काठमाण्डाै – नेकपाका सांसद अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । सापकोटाले नेकपाका नेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाकै ओनसरी घर्ती, देव गुरुङ र राजपाका लक्ष्मणलाल कर्ण समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ । नेपाली काङ्ग्रेसले प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी नदिने भएको छ । आज बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको संसदीय दलको कार्यालयले जनाएको छ ।
बैठकले सत्तारुढ दलसँग पर्याप्त बहुमत रहेको र सभामुख पद तटस्थ रहनुपर्ने पद भएकाले आफ्नो तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । यससँगै सापकोटा सर्वसम्मतरुपमा सभामुख चयन हुने लगभग निश्चित जस्तै बनेको छ ।
प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था छ । नयाँ सभामुख चयन गर्न आउँदो आइतबार दिउँसो ३ बजे मतदान हुँदैछ ।