images
images

मलेसियाबाट ३० हजार टनभन्दा बढी पाम आयल भारतीय बन्दरगाहमा थन्कियो

काठमाण्डौ – मलेसियाबाट भारत पुगेको हजारौँ टन पाम आयल भारतीय बन्दरगाहमा थन्किएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार प्रतिबन्धअघि नै मलेसियाबाट पाम आयल लिएर आएका जहाज बन्दरगाहमा थन्किएका हुन् । बन्दरगाहमा थन्किएपछि पाम आयल बोकेका जहाज ठूलो समस्यामा परेका छन् । मलेसियाबाट ३० हजार टनभन्दा बढी पाम आयल आएको थियो ।

मलेसियाबाट आउने खाद्य तेल सबैभन्दा धेरै भारतले खरिद गर्ने गर्छ । तर कश्मीर र नागरिकता संशोधन कानुन (सीएए) को विषयमा मलेसियाका प्रधानमन्त्रीको बयानपछि भारतले प्रतिबन्ध लगाएको हो । जसका कारण मलेसियालाई आर्थिक घाटा भएको छ । मलेसिया, इन्डोनेसियापछि पाम आयलको दोस्रो सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता देश हो ।

भारतले मलेसियालीबाट आउने पाम आयलमा गएको जनवरी ८ मा प्रतिबन्ध लगाएको थियो । भारतले भने घरेलु उत्पादनको प्रयोगमा जोड दिनुपर्छ भन्दै पाम आयलको आयातमा प्रतिबन्ध लगाएको बताएको छ । पछिल्लो पाँच वर्षमा भारत मलेसियाबाट आउने पाम आयलको सबैभन्दा ठूलो बजार पनि हो ।

प्रतिबन्धपछि बजारमा मलेसियाली पाम आयलको रकममा १० प्रतिशतले गिरावट आएको छ, जुन ११ वर्षको सबैभन्दा ठूलो साप्ताहि गिरावट हो ।