प्रदर्शनरत फिल्म ‘छपाक’ का कारण चर्चामा रहेकी अभिनेत्री दीपिका पादुकोणले निर्देशक प्रदीप सरकारको फिल्म गर्ने भएकी छन् । १९औं शताब्दीकी चर्चित भारतीय गायिका विनोदिनी दासीको जीवनीमा आधारित भएर निर्माण हुन लागेको फिल्ममा उनले अभिनय गर्न लागेकी हुन् । केही दिन अगाडि निर्देशक प्रदीप र अभिनेत्री दीपिकाबीच कागजी सम्झौता भएको बताइएको छ ।
विनोदिनी दासी एक प्रसिद्ध बंगाली भाषाकी नाट्य अभिनेत्री थिइन् । १२ वर्षको उमेरमा उनले अभिनय करिअर सुरुवात गरेकी थिइन् र २३ वर्षको उमेरसम्म यो क्षेत्रसँग जोडिरहिन् । यसपछि उनले सन् १९१३ मा आफ्नो आत्मकथा ‘द स्टोरी अफ माई लाइफ’ लेखेर प्रकाशित गरेकी थिइन् । उनी आफ्नो आत्मकथा लेख्ने थिएटरकी पहिलो दक्षिण एसियाली अभिनेत्रीमध्ये एक हुन् ।
८० भन्दा बढी नाटकमा अभिनय गरेकी विनोदिनीको जीवनीमा आधारित भएर बन्न लागेको फिल्ममा दीपिकासँगै अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि अभिनय रहने बताइएको छ । ऐश्वर्याले पनि फिल्म साइन गरिसकेकी छन् । तर, विनोदिनीको भूमिका भने दीपिकाले निभाउने भारतीय मिडियाले बताएका छन् । यसअघि विनोदिनीको जीवनीबारे विभिन्न डकुमेन्ट्री समेत बनेका छन् ।
अभिनेत्री द्वय दीपिका र ऐश्वर्याले पहिलो पटक फिल्ममा सँगै काम गर्न लागेका हुन् । उनीहरुलाई पर्दामा एकसाथ हेर्न निकै रोचक हुने देखिन्छ । अभिनेत्री ऐश्वर्या पछिल्लो पटक फिल्म ‘फन्ने खान’ मा देखिएकी थिइन् । अभिनेत्री दीपिका भने फिल्म ‘छपाक’ असफल भएपछि निराश छिन् । प्रदीप सरकारको फिल्मपछि उनले सिद्धान्त चतुर्वेदीसँग नयाँ फिल्म गर्ने बताइएको छ ।