images
images

राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग गर्न नपाउने

बेलायत– बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ ।

अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन् । बेलायती राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ ।

दरबारद्वारा जारी वक्तव्यका अनुसार “ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन् ।”

हालै ह्यारी र मेगनले आफूले राजपरिवारको ‘वरिष्ठ सदस्य’ को भूमिका परित्याग गर्ने र आफ्नो समय बेलायत तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए । राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले मञ्जुरी दिएकी थिइन् । नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागु हुने दरबारले जनाएको छ ।

ह्यारी र मेगनले ब्रिटेनस्थित आफ्नो घर ‘फ्रोगमोर कटेज’को मर्मतसम्भारका लागि खर्च भएको करदाताको २४ लाख पाउन्ड रकम फिर्ता गर्न चाहेको बताएका छन् । महारानीले भनेकी छिन्, “ह्यारी, मेगन र आर्ची (उनीहरूका छोरा) सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन्।”

“मलाई लाग्छ पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुपर्‍यो । म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु।”

यद्यपि बकिङ्घम दरबारले यी दम्पतीको आउने दिनमा कस्तो सुरक्षा व्यवस्था हुनेछ भन्नेबारे टिप्पणी नगर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।