प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारलाई प्रायः गाली गरिरहन्छन् । ‘पत्रकारले आमालाई पनि तिमी भन्छ’ भन्दै आएका प्रधानमन्त्रीले मंगलबार बालुवाटारबाट अर्को वाण हाने, ‘सरकारको प्रशंसा गर्ने मुटु भएका सम्पादक छैनन् ।’
प्रधानमन्त्री भन्छन्, ‘हामीले काम गरेका छौं । त्यस्ता कामहरुको प्रशंसामा लेख्ने, प्रसारण गर्ने टेलिभिजन छैनन् । त्यस्ता कामको प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि गाली खान्छ । राम्रा कुरा पनि गर्न थालिस्, बिग्रिन्छस् भन्छन् । सकारात्मक कुरा पनि गर्न थालिस् भन्ने आउँछ ।’
प्रधानमन्त्रीले पत्रकारको आलोचना गर्न वा मिडियाप्रति गुनासो गर्न हुँदैन भन्ने कतै लेखिएको छैन । मज्जाले हुन्छ । अभिव्यक्ति स्वतन्त्रताका पक्षधर विद्वानले भनेकै छन्, ‘तिम्रा विचारसँग म असहमत छु, तर तिम्रो विचारको रक्षाका लागि अन्तिम सास छउञ्जेल म लडिरहनेछु ।’
अहिले नेपालको सञ्चारमाध्यम यही अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा छ ।
देशको अभिभावक प्रधानमन्त्रीबाट पत्रकारले गाली खाइरहेकै छन् । पत्रकारलाई तर्साउन मिडिया काउन्सिल विधेयकको तरबार उध्याइएको छ । सूचना प्रविधि विधेयकका नाममा पत्रकारलाई मात्र होइन, आम नागरिकलाई पनि सामाजिक सञ्जालमा अभिव्यक्ति दिनबाट रोक लगाउने तयारी भइरहेको छ । मिडियाले सरकारी/गैरसरकारी गाली खाएर, अरिंगालको टोकाइ सहेरै भए पनि नागरिकको अधिकार रक्षाका लागि आवाज उठाइरहेका छन् ।
उद्योगी व्यवसायीहरु ओली सरकारको कार्यशैलीबाट खुशी छैनन् । उद्योगी व्यवसायीप्रति सरकारको व्यवहार राम्रो नरहेको गुनासो सुनिँदै आएको छ । मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओली नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग गफिँदै थिए । त्यहाँ, प्रधानमन्त्रीले अप्राशंगिक कथनका रुपमा सम्पादकहरुको मुटुको रिपोर्ट प्रस्तुत गरे ।
स्टालिनपथमा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीको मन र मुटुमा लोकतन्त्र, बहुलवाद वा बहुदलीयता छैन, मुखमा मात्र छ । प्रधानमन्त्रीको मन मुटुमा स्टालिनपथ छ, एकमनावाद छ । उनी जोसेफ स्टालिनले जस्तै आफ्ना आलोचकहरुलाई सिध्याएर प्रशंसकहरुको ‘हनुमानराज’ स्थापना गर्न चाहन्छन् ।
पार्टीभित्र केपी ओलीले स्टालिनको जस्तै एकमनावाद जबर्जस्त लागु गरिरहेका छन् । उनी पार्टी र देशलाई निरंकुशतातिर धकेल्न चाहन्छन् । तर, ओलीको यो यात्रामा सबैभन्दा ठूला बाधक भनेकै मिडिया र सामाजिक सञ्जाल हुन् । यही कारणले गर्दा उनी मिडिया र सामाजिक सञ्जालमाथि बारम्बार खनिने गरेका छन् । यही कारणले सरकार अलोकतान्त्रिक कानूनहरु बनाउन लागिपरेको हो ।
ब्युरोक्रेसीमा रहेका निरंकुशताका कोरियोग्राफरहरु यतिबेला धमाधम ओली सरकारको काँधमा राखेर बन्दुक पड्काइरहेका छन् । पाउन सूचना प्रविधि विधेयक र मिडिया काउन्सिल ऐनको मस्यौदाकार हेरेपछि अरु प्रमाण खोजिरहनुपर्दैन ।
प्रधानमन्त्री ओली लोकतन्त्रका लागि १४ बर्ष जेल बसेको कुरा गर्छन् । हुन त उनी निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरेरै १४ वर्ष जेल बसेका नेता हुन् । तर, उनी लोकतन्त्र र वाक स्वतन्त्रता लागि लड्दा जेल परेका होइनन्, चारु मजुम्दारको पछि लागेर झापामा व्यक्ति हत्याको आरोपमा जेल परेका हुन् । ०३६ सालमा जनमत संग्रह बहिस्कारको नारा लगाउने दलमा हुर्किएका ओली वाक तथा अभिव्यक्ति स्वतन्त्रताका पहरेदार होइनन् । जेलबाट निस्केपछि पनि उनले पार्टीभित्र आफ्नालाई च्याप्ने र विपक्षीलाई सेक्ने स्टालिनपथकै अभ्यास गरेको इतिहास साक्षी छ ।


जनता भ्वाइस 








