काठमाडौं- मोबाइल टावरमा आक्रमण गर्दा अत्यावश्यकीय सेवा प्रभावित भएको उल्लेख गर्दै त्यसो नगरिदिन नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ ।
पछिल्लो समय नेपाल टेलिकम, एनसेललगायत दूरसञ्चार सेवा प्रदायकका मोबाइल टावरमाथि शृंखलाबद्ध आक्रमणका घटना भइरहेका छन् । मंगलबार बिहानमात्रै काठमाडौंका दुई स्थानमा मोबाइल टावरमाथि आक्रमण भएको छ । यसअघि एनसेलको भैंसेपाटीस्थित मुख्यालयमै आक्रमण भएको थियो । विप्लवले गरेको उक्त आक्रमणमा एक जनाको ज्यान नै गएको थियो ।
दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाका रूपमा स्थापित भइसकेको सन्दर्भमा सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आमनेपाली उपभोक्तामा परेकाले त्यसो नगरिदिन उसले विप्लवलगायतलाई अपिल गरेको हो ।
‘दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रूपमा स्थापित भइसकेको सन्दर्भमा यासरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आमनेपाली उपभोक्ताहरूमा पर्ने हुन्छ,’ नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अतिआवश्यक दूरसञ्चार सेवाको पूर्वाधार टावरलगायतका प्रणालीमा क्षति नपु¥याउन अनुरोध गरिन्छ ।’


जनता भ्वाइस 







