काठमाडौँ – नवलपरासीमा भेटिएको फलाम खानिबाट फलाम उत्खननकाे तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननकाे तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताउनुभयो । फलामको उत्खनन् र प्रशोधनका लागि कम्पनी खडा गरिएको उहाँले बताउनुभयो । ‘गुणस्तर सम्बन्धी विषयको सफल परीक्षण भइसकेको छ । डिपोजिट पर्याप्त मात्रामा छ भन्ने पनि आइसकेको र नमुना परीक्षण पनि सफलताका साथ भइसकेको छ । अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ । उत्खनन र प्रशोधनका लागि कम्पनी खाडा गरी सञ्चालनको मोडालिटी पनि तयार भएको छ’, उहाँले भन्नुभयो ।
सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भएर काम सुरु भइसकेको छ । ४ महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यवसायिक रुपमा थाहा हुने उहाँले बताउनुभयो । दैलेखम मात्रै नभएर अहिले सुर्खेत र तानसेनमा पनि यससम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ ।