उनका अनुसार, केएफसीको मूल्य आम नेपालीको खर्च गर्ने क्षमता बाहिर छ । नेपालीहरुको क्रयशक्ति भित्रको चिकेन फ्राई उपलब्ध गराउँदा आफू सफल भएको उनले बताए । ‘सस्तो मूल्य र ग्राहकको नजिकको ठाउँमा हाम्रो उपस्थिति चिकेन स्टेशनको सफलताको मुख्य कारण हो’, उनी भन्छन्, ‘हामी दुई सय रुपैयाँमा चिकेन राइस बल वा चिकेनफ्राई खुवाउँछौँ ।’
दुई वर्षमा १८ फ्रेन्चाइज
निकेश ताम्राकारका अनुसार, अहिले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, बुटवल र चितवनमा १८ वटा चिकेन स्टेसन सञ्चालनमा छन् । आगामी वैशाखभित्र काठमाडौं, भक्तपुर र बनेपामा पाँच वटा स्टेसन थपिने उनले बताए ।
अहिले सन्चालित १८ स्टेशनमा दुई सय हाराहारीले रोजगारी पाएको र गुणस्तरमा कमि नआओस् भनेर आफ्नै ‘फुड अडिटर’ राखेको निकेश बताउँछन् । उनका अनुसार अहिले सबै स्टेसनबाट दैनिक कम्तिमा तीनसय किलो चिकेन खपत भइरहेको छ ।
चिकेन स्टेसनको ब्राण्ड
चिकेन स्टेसनमा कमल पराजुली निकेसका मुख्य साझेदार छन् । दुई साझेदारले केन्द्रीय चिकेन स्टेसनले तोकेको गुणस्तर र मापदण्डमा रहेर स्वतन्त्र लगानीकर्ताले प|mेन्चाइज किन्न सक्ने नीति लागु गरेका छन् । अर्थात्, अहिले चलेका सबै स्टेसनमा निकेश र कमलको मात्र लगानी छैन ।
सबै स्टेसनमा ग्राहकलाई खुवाउने खाजाको परिकार, मूल्य, गुणस्तर, स्टेसनको रङ र डिजाइन मात्र होइन फर्निचरमा पनि एकरुपता छ । स्टेसनहरुलाई चाहिने कुक र वेटरसमेत काठमाडौंको शंखमुलमा रहेको केन्द्रीय चिकेन स्टेसनले परिचालन गर्छ । आफ्नै ट्रेडमार्क दर्ता गरेको चिकेन स्टेसनमा नयाँ लगानीकर्ताको कुनै कमी नभएको निकेश बताउँछन् ।
झम्सीखेलले लडायो अनि उठायो
जागिरबाट आर्थिक प्रगती हुँदैन भन्ने सोच रहेका निकेशका बुबाले छोराले केही गरोस् भनेर १० वर्षअघि रेष्टुरेन्टमा लगानी गरिदिएका थिए । तर, झम्सीखेलको त्यो ‘सिनामन रेष्टुरेण्ट’ डुब्यो । केही वर्ष यत्तिकै बसेका निकेशलाई बुबाले फेरि झम्सीखेलमै ‘क्याफे नेक्स्ट’ नामक रेष्टुरेण्टमा लगानी गरिदिए । तर, निकेश त्यहाँ पनि लडे । आफूले दुई वटा रेष्टुरेण्टमा ठूलो लगानी डुबाएर बुबाको सपनामा पानी खन्याएको उनी बताउँछन् ।
‘अहिले केलाउँदा झम्सीखेलमा डुब्नुको दुई वटा कारण पाउँछु’, निकेश भन्छन्, ‘बिना अध्ययन सुरु गरेको मेरो रेष्टुरेन्टमा कुनै नयाँपन थिएन । थुप्रै रेष्टुरेन्ट भएको ठाउँमा खोलेको नयाँ रेष्टुरेन्टमा ग्राहक कुरेर दिन कटाउनु पर्ने अवस्था आयो ।’
पर्याप्त अध्ययन र नयाँपनसहित त्यही झम्सीखेलमा तेस्रो पटक चिकेन स्टेशन सुरु गरेपछि भने उनी अगाडि बढेको बढ्यै छन् । मेहनत र नयाँपनले आफूलाई सफल बनाएको निकेश बताउँछन् । उनी भन्छन्, ‘अब त काठमाडौं मःम ब्राण्डमा भारतमा पनि उपस्थिति जनाउने आँट आएको छ ।’


जनता भ्वाइस 







