images
images

नेकपाको निर्णय मान्दिनँ भन्ने शिवमाया बालुवाटार छिरिन्

काठमाडौं – नेकपा सचिवालयले राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फे नेकपा नेताहरुको बोलावटपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छिन् । नेकपाका शीर्ष नेताहरुले बोलाएपछि उपसभामुख तुम्बाहाम्फे आइतबार साढे ११ बजेतिर बालुवाटार प्रवेश गरेकी हुन् ।

शिवमाया बालुवाटारमा पुग्दा त्यहाँ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सँगै छन् । साथै महासचिव विष्णु पौडेल र रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेताहरु पनि बालुवाटारमा भेला भएका छन् । शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई  आफ्नो पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न भनेको थियो ।

तर, तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राखेकी थिइन् । पार्टीको निर्णयलाई नै चुनौती दिएको हुनाले शिवमायालाई बालुवाटार बोलाएको एक नेताले अनलाइनखबरलाई बताए । नेकपाले सभामुखको उम्मेदवार टुंग्याउन नसक्दा पुस ४ गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आइरहेको छ । पटक-पटक सर्दै आएको बैठक आज आइतबार पनि बोलाइएको छ ।

उपसभामुखले राजीनामा दिएको अवस्थामा आजको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुने र सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताइएको छ । तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा आजको बैठक पनि सूचना टाँसेर स्थगित हुने सम्भावना छ । उपसभामुख तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउनुपर्ने माग गर्दै आएकी छिन् ।

उनले सभामुख बन्नका लागि पनि उपसभामुखबाट राजीनामा दिनुपर्ने हुन्छ । तुम्बाहाम्फेले उपसभामुख नछाडेको स्थितिमा संविधानतः सभामुख पदमा नेकपाले उम्मदेवारी दिने स्थिति रहँदैन ।