काठमाण्डौ – ईरानको राजधानी तेहराको सडकमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरु प्रदर्शन गरिरहेका छन् । युक्रेनको यात्रु बोकेको विमान खसालिएको विषयमा झुट बोलेको भन्दै उनीहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । ईरानी अधिकारीहरुका विरुद्ध तेहरानको दुई वटा विश्वविद्यालयबाहिर प्रदर्शन भइरहेको बताइएको छ । प्रदर्शनकारीविरुद्ध अश्रृग्यास प्रहार गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो प्रदर्शन प्रेरक भएको बताउँदै समर्थनमा ट्वीट पनि गरेका छन् । त्यस्तै अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले प्रदर्शनको समर्थन गरेका छन् । यसअघि ईरानले गएको शनिबार विमान दुर्घटनाको तीन दिनपछि गल्ती स्वीकार्दै आफ्नै मिसाइलले यात्री विमान खसेको बताएको थियो । विमान दुर्घटनामा एक सय ७६ जनाकै ज्यान गएको थियो ।
प्रदर्शनकारीहरुले सरकारविरुद्ध नारा लगाउँदै यात्री विमान खसाल्ने जिम्मेवार व्यक्तिलाई कारबाही गर्न माग गरिरहेका छन् । प्रदर्शनकारीहरुले ईरानका सर्वाेच्च नेता कमाण्डर इन चिफ् अयतोल्लाह अली खमेनेईसँग विमान खसाल्ने अधिकारीहरुको राजीनामा र झुट बोल्नेलाई मृत्युदण्डको सजाय दिन माग गरेका छन् ।