काठमाण्डाै – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसहित पश्चिमी देशका केही नेताले ईरानी मिसाइलले युक्रेनी यात्रु विमान खसालेको बताएका छन् । क्यानडा र बेलायतका नेताले विमान दुर्घटनाको पूरै जाँच गर्न मागसमेत गरेकाे बिबिसीले जनाएको छ । युक्रेनी विमान तेहरान विमानस्थलबाट उड्ने बेलामा गएकाे बुधबार दुर्घटना हुँदा त्यसमा रहेका सबै एक सय ७६ जनाकाे ज्यान गएकाे थियाे ।
जस्टिन ट्रुडोले केही महत्वपूर्ण माध्यमबाट आफूलाई युक्रेनको विमान ईरानले जमिनबाट मार हान्ने मिसाइलले आक्रमण गरी खसालेको खबर पाएको बताएका छन् । हवाई जहाज दुर्घटनामा क्यानडाका ६३ जना नागरिक थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्रुडोको भनाइप्रति सहमति जनाउँदै क्यानडा र बेलायत मिलेर यसबारे थप खोजी गरिरहेको बताएका छन् ।यसअघि पनि अमेरिकी सञ्चारमाध्यमले इरानले गलत तरिकाले युक्रेनी विमान खसालेको बताएका थिए ।
अमेरिकी न्युज च्यानल सीबीएसका अनुसार अमेरिकी अधिकारीहरुले युक्रेन इन्टरनेशनलको बोइङ ७३७ विमानलाई ईरानको मिसाइलले हानेको बताएका छन् । यद्यपि ईरानले भने यी सबै आरोप नकारेको छ । तर युक्रेनले संयुक्त राष्ट्रसँग विमान दुर्घटनाको जाँचमा बिना शर्त समर्थन मागेको छ ।
युक्रेनले पहिले नै विमान दुर्घटनाको कारण मिसाल प्रहार त होइन ? भनेर जाँच गरिरहेको बताएको थियो । त्यो समय ईरानले यो आशङ्कालाई खारेज गरेको थियो । ईरानले इराकमा रहेको अमेरिकी सैनिक अड्डामा मिसाइल प्रहार गरेको केही समयमा नै युक्रेनी विमान दुर्घटनाग्रस्त भएको थियो ।