काठमाण्डाै – उखु मिल सञ्चालकहरुले उखु किसानको बक्यौता रकम दिएकाे वा नदिएकाे बारे सरकारले शुक्रबारदेखि अनुगमन सुरु गर्ने भएको छ । सरकार र उखु किसानबीच भएको सहमतिअनुसार मिल सञ्चालकले भुक्तानी दिएकाे, नदिएकाे बारे आजदेखि अनुगमन थालिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिनुभयो ।
अनुगमनका लागि मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र पठाइसकेको र आजदेखि विभाग र जिल्लामा रहेका अन्य संयन्त्रको माध्यमबाट अनुगमन गरिने उहाँले बताउनु भयो । सरकार र उखु किसानबीच माघ ७ गतेभित्र सबै भुत्तानी दिइसक्ने सहमति भएको छ ।
गएकाे पुस १८ गते सम्झौता भएपछि केही मिल सञ्चालकले उखु किसानको भुक्तानी बापतको रकम दिन सुरु गरिसकेका छन् । सर्लाहीमा रहेको महालक्ष्मी सुगर मिलले किसानको दिनुपर्ने २१ करोड रुपैयाँमध्ये १३ करोड रुपैयाँ किसानको खातामा जम्मा गरेर मिल सञ्चालन गर्न थालेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।
सर्लाहीकै अन्नपूर्ण सुगर मिलले भने उखु किसानलाई दिन बाँकी ५० करोडमध्ये दुई करोड रुपैयाँमात्रै दिएको छ । नवलपरासीको बाग्मतीले पनि केही रकम दिएर मिल सञ्चालन गरेको छ भने नवलपरासीकै इन्दिरा सुगर चिनी मिलले ९ करोड रुपैयाँ किसानलाई दिन बाँकी भएकोमा दिए, नदिएकाे बारे जानकारी नभएको मैनालीले बताउनु भयो ।
यस्तै, किसानले सरकारबाट अनुदान बापत पाउनु पर्नेमध्येको केही रकम पनि जिल्लामा पठाइसकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।