काठमाडौँ – विद्यालयको छानो चुहिने भएपछि रोल्पाको एक विद्यालयका विद्यार्थीहरु कक्षा कोठाभित्रै छाता ओढेर पढ्न बाध्य भएका छन् । रोल्पाको रुन्टीगढी गाउँपालिका १ को राङजात रिठाबोटमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यायलयको छानो मर्मत नहुँदा कठ्याङ्ग्रिदो जाडोमा सबैजसो कक्षाकोठाका विद्यार्थी छाता ओढेर पढ्न बाध्य भएका हुन् ।
जस्तापाता फेर्न पटक–पटक पालिकासँग माग गरेको भए पनि सुनुवाइ नहुँदा विद्यार्थीहरुले सास्ती भोग्नु परेको विद्यालयका प्रधानाध्यापक झक्कु ओलीले गुनासो गर्नुभयो । ‘वडा र गाउँपालिकामा माग गरेका छौँ तर सहयोग भएको छैन’, ओलीले भन्नुभयो, ‘चिसोमा विद्यार्थीको बिजोग भएको छ ।’
यसअघिको वर्षा सुरु नहुँदै जस्तापाता माग गरेको विद्यालयले अहिलेसम्म पनि छानो फेर्न पाएको छैन । भवन पनि जीर्ण अवस्थामा रहेको छ । पानी चुहिने समस्या मात्र नभएर भवन नै भत्किने हो कि ? भन्ने चिन्ता रहेको शिक्षकहरु बताउँछन् ।