काठमाण्डौ – सत्तारुढ दल नेकपाको प्रदेश नम्बर-३ को संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ । अहिले केही बेरपछि प्रदेशसभा बैठक बस्ने भएकाले संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्नेगरी स्थगित गरिएको हो ।
यसअघि तीनदिनसम्म चलेको बैठकमा बोल्न बाँकी रहेका प्रदेशसभा सदस्यले बिहीबारकाे बैठकमा आफ्नाे धारणा राखेका छन् । तर, प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा बनाउने विषयमा नेकपा सचिवालयको निर्णयमा सहमति जुट्न नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।
नेकपा सचिवालयको निर्णयमा प्रदेश-३ का धेरै प्रदेशसभा सांसदको असन्तुष्टि रहेकाे छ । आजको संसदीय दलको बैठकमा यो विषयमा सहमति नभएकाले अहिले बस्ने प्रदेशसभा बैठकमा पनि प्रदेशको नाम र राजधानीका विषयमा छलफल नहुने भएको छ ।
नेकपा सचिवालयको निर्णय अनुसार ह्विप लगाएर भए पनि प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौँडा बनाउने तयारी छ । तर, यसका लागि कम्तीमा प्रदेश संसदीय दलको बैठकबाट सहमति खोज्ने नेताहरुको योजना छ ।