images
images

चैनपुर नगरपालिकाकाे १० नम्बर वडामा खरको छानो हटाउने अभियान

काठमाडौँ – सङ्खुवासभाको चैनपुर नगरपालिका १० ले परम्परागत खरको छानो हटाउने अभियान सुरु गरेको छ । पालिकाले नागरिकहरुको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षित आवासका लागि परम्परागत खरको छानो हटाउने अभियान सुरु गरिएकाे हो । वडा नम्बर १० का वडाध्यक्ष तेजबहादुर कटुवालले आफ्नो वडाभित्रका विपन्न ३३ घरपरिवारलाई रङ्गीन जस्तापाता वितरण गरिएको जानकारी दिनुभयो ।

‘परम्परागत खरको छानोले हावाहुरी चल्दा जोखिम निम्त्याउने गर्छ । वडाले अभियान नै चलाए पनि सबै नागरिकले जस्तापाता खरिद गर्न सक्दैनन् । बिस्तारै वडाभित्रका सबै नागरिकहरुलाई  जस्तापाता वितरण गर्छौँ ’, वडाध्यक्ष कटवालले भन्नुभयो  । वडा कार्यालय र ‘समाज स्पर्श समिति’ नामक संस्थाको सहयोगमा जस्तापाता वितरण गरिएको हो ।

स्थानीय निर्वाचनको समयमा गरिएको प्रतिबद्धताअनुसार आफ्नो कार्यकालभित्र वडावासी सबैलाई खरको छानो मुक्त बनाउने वडाध्यक्ष कटुवालले बताउनु भयो । पहिलो चरणमा गरिब तथा विपन्न वर्गको घरमा खरको छानो फेर्ने योजना रहेको र त्यसपछि सुरक्षित आवासका लागि यो कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनु भयाे ।