काठमाडौं – सीपी मैनाली नेतृत्वको नेकपा माले लगायतका ६ वटा पार्टीले राष्ट्रिय महत्वका विषयहरुमा साझा दृष्टिकोण र नीति बनाउदै सार्वजनिक गरेका छन् । ती दलको यहीँ पुस १३ गते बसेको संयुक्त बैठकले नेपालको व्यास क्षेत्र भारत सरकारबाट खाली गर्नुपर्ने, माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्बन्धी सम्झौता अविलम्ब खारेज गर्नुपर्ने, एमसीसी कम्प्याक्टबाट नेपालको राष्ट्रिय हित प्रतिकुल भएकाले लागु गर्न नहुने लगायत छन् ।
बैठकपछि नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द निरौला, जनसमाजवादी पार्टी नेपालका उपमहासचिव डम्बरविक्रम कार्की, नेपाल सर्वहारा कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष भावना विद्रोही राष्ट्रिय पुनर्जागरण अभियानका प्रवक्ता निमकान्त पाण्डे, तथा नेपालवाद पार्टीका महासचिव दिपक कुमार शर्माले जारी गरेको विज्ञप्तिमा नेपालको दार्चुला जिल्लाको व्यास क्षेत्रमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारत सरकारले आफ्नो नक्साभित्र पारेकोमा विरोध गर्दै नेपाली भुमि समेटेर नेपालको राजनीतिक नक्सा तयार गर्न र प्रयोगमा ल्याउन सरकारसँग माग गरेको छ ।
त्यस्तै माथिल्लो कर्णाली जलविद्युत परियोजनाबारे जीएमआर कम्पनीसँग गरिएको पीडीए तत्काल खारेज गर्न माग गरिएको छ । त्यस्तै एमसीसी कम्प्याक्ट सम्झौताले नेपालको संविधान र कानुन भन्दा माथि राखिएको भन्दै त्यसलाई नस्वीकार्न आग्रह गरिएको छ ।