images
images

प्रदेश २ काे मुख्यमन्त्री भवन आसपासमा विराेधका कार्यक्रम गर्न नपाइने, निषेधित क्षेत्र ताेकियाे

काठमाडौँ  – प्रदेश नम्बर २ काे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् भवन आसपासका क्षेत्रलाई निषेधित क्षेत्र कायम गरिएकाे छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा अन्य मन्त्रालयहरु रहेको मधेश भवन आसपासङ्माका क्षेत्रलाई निषेधित क्षेत्र कायम गरिएकाे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनुभयाे ।

जिल्ला सुरक्षा समितिकाे साेमबार बसेकाे बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अन्य मन्त्रालयहरु रहेको मधेश भवन आसापास, रेलवे लिंक पश्चिम खण्डको दक्षिणदेखि पश्चिम ढोकासम्मको ५० मिटरभित्र अबदेखि कुनै पनि धर्ना वा विरोध प्रदर्शन नगर्न/गराउन निषेधित क्षेत्र तोकेको हो ।

प्रदेश २ सरकारको कार्यालय मधेश भवन अगाडि धर्ना र विरोधजन्य प्रदर्शन गर्न अब राेकिने स्थानीय प्रशासनले विश्वास लिएकाे छ । विभिन्न संघ संगठनले आफ्ना माग पुरा गराउन भन्दै यस क्षेत्रमा धर्ना तथा विराेध प्रदर्शन गर्ने गरेका थिए । साेमबारदेखि भने यस क्षेत्रमा यस्ता खाले कार्यक्रममा राेक लगाइएकाे प्रमुख जिल्ला अधिकारी कँणेलले बताउनुभयाे ।

मुख्यमन्त्री तथा अन्य मन्त्रालयका कार्यलयहरु सुरक्षाका दृष्टीले निकै संवेदनशील क्षेत्र रहेकाले यस आसपासका क्षेत्रमा सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारीको नाताले आफूले निषेधित क्षेत्र कायम गरेकाे कँणेलले बताउनुभयाे ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम सुरक्षाको संवेदनशीलता हेरेर निषेधित क्षेत्र ताेकिएकाे उहाँले बताउनुभयाे । आफ्ना माग सम्बोधन गराउन धर्ना वा विरोध प्रदर्शन गर्न पाउने नागरिककाे संवैधानिक अधिकार रहे पनि तोकिएको क्षेत्र बाहेक कसैले निषेधित क्षेत्रमा त्यस्ता कार्यक्रम गरे कानुन बमोजिम कारवाही हुने पनि उहाँले बताउनुभयाे ।