काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेलहरु सोमबारदेखि सुरु हुँदैछ । यसअघिका खेल सातदोबाटो र दशरथ रंगशालामा हुँदै आएको भए पनि चौथो चरणका सबै खेल सातदोेबाटोमा हुने भएका छन् । दशरथ रंगशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकोले चौथो चरणको सबै खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा सारिएको हो ।
यही बुधबार नयाँ वर्ष २०२० को अवसरमा भ्रमण वर्षको शुभारम्भ कार्यक्रम दशरथ रंगशालामा गरिँदैछ । चौथो चरणअन्तर्गत सोमबार दुई खेल हुँदैछन् । मच्छिन्द्र क्लब र न्यु रोड टिम (एनआरटी) बीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ भने मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
मच्छिन्द्र अंक तालिकाको तेस्रो स्थानमा छ भने एनआरटी छैटौं स्थानमा छ । सोमबारको खेलमा मच्छिन्द्र विजयी भए केहीबेरका लागि भए पनि शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्ने छ । एनआरटी विजयी भए तेस्रो स्थानमा उक्लने छ ।
यस्तै दिउँसो ३ बजे फ्रेण्ड्स र मनाङ मर्स्याङ्दी क्लब प्रतिस्पर्धा गर्दैछन् । जारी लिगमा मनाङ अपराजित रहको छ भने फ्रेण्ड्स क्लब पहिलो जितको खोजीमा हुने छ ।


जनता भ्वाइस 








