images
images

उखु किसानकाे आराेप : सरकार उद्याेगीकाे पक्षमा उभियाे

काठमाण्डाै – उखु बेचेको रकम उठाइदिन माग गर्दै आन्दोलनरत किसानले सरकार उद्योगीको पक्षमा उभिएको आरोप लगाएका छन् ।पटक–पटक किसानका माग सम्बोधन गर्ने आश्वासन दिए पनि सरकारले रकम उठाइदिन पहल नगरेको भन्दै किसानले सरकार उद्योगीकै पक्षमा लाग्ने गरेको आरोप लगाएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, कृषि मन्त्रालयका प्रतिनिधिलगायतसँग छलफल गर्दा किसानलाई उखु बेचेको रकम उठाइदिन र अनुदानको रकम किसानलाई उपलब्ध गराउन माग गरे पनि मन्त्री र सरकारी अधिकारीहरुले उद्योग धराशायी भएको भन्दै उद्योगीको बचाउ गर्ने गरेको सर्लाहीका उखु किसान राजेश यादवले बताउनुभयो ।

आइतबार सरकारी पदाधिकारीहरुसँगको छलफलमा सात दिनभित्र समस्याको समाधान गर्ने आश्वासन दिए पनि यसअघिको व्यवहार हेर्दा त्यो पूरा हुनेमा शङ्का रहेको यादवकाे भनाइ भना छ । धेरै पटक सरकारको आश्वासन पाएकाले आफूहरु आश्वासनकै भरमा आन्दोलन छोडेर नजाने उहाँले बताउनुभयो ।

उखु किसानले साेमबार पनि दिउँसो ४ बजेसम्म माईतीघर मण्डला घेराउ गरी प्रदर्शन गर्ने भएका छन् । चिनी मिलले ७ वर्षदेखिको बाँकी भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिल पनि चल्न नदिने किसानले चेतावनी दिएका छन् ।

उखुको भाउ पनि मिलहरुले अहिले आफूखुशी पाँच सय रुपैयाँ दिँदै आएकोमा सरकारले निर्धारण गरेको पाँच सय ३६ रुपैयाँ ५६ प्रतिक्विन्टल कायम गर्नुपर्ने माग किसानको छ । देशभरका उखु किसानले अझै विभिन्न उद्योगबाट साढे १ अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी भएको उखु किसान महासङ्घले जनाएको छ ।