काठमाडौँ – २० वर्ष अघि स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टर र दुई जना स्टाफ नर्सको दरबन्दी भए पनि १८ वर्षसम्म डाक्टर देखिएनन् । एक वर्षअघि झलक्क देखिएका डाक्टर पनि पाँच महिनाअघि सरुवा भएर गएपछि केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र डाक्टर विहीन बन्न पुगेको छ ।
यो कथा एशियाकै पहिलो महिलामन्त्री द्वारिकावेदी ठकुरानीको गाउँको स्वास्थ्य केन्द्रको हो । गाउँको प्राथमिक स्वास्थ्यकेन्द्रमा डाक्टर नहुँदा स्वराड क्षेत्रका स्थानीय उपचार गर्न भारत जानुपर्ने बाध्यता खेप्दै आईरहेका छन् ।
बैतडीको तल्लो स्वराड क्षेत्रका तीन वटा स्थानीय तहका ६० हजार स्थानियवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने मेलौली नगरपालिकाको छेउमै रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर र स्टाफ नर्स नहुँदा आफै बिरामी परेको छ । बैतडीको तल्लो स्वाड क्षेत्रको मेलौली नगरपालिका–७, मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर जीवन कार्की एक वर्ष बसेर पाँच महिना अघि अध्ययन विदामा गएपछि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो ।
पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिका गरि तीन वटा स्थानीय तहलाई पायक पर्ने ठाउँमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार डाक्टर बस्ने गरेका छैनन् । स्वराडमा डाक्टर झुल्किन मात्रै आउने गरेको स्थानियले पीडा सुनाएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएपछि स्थानीय उपचार गर्न भारत जाने गरेको मेलौली नगरपालिका–७ का केशवसिंह भाटले बताउनुभयो ।
भाटले भन्नुभयो, “२० वर्षदेखि डाक्टरको नाम मात्रै सुन्यौं, डाक्टर आएनन् । एक वर्षअघि आएका डाक्टर पनि सरुवार भएर जानुभयो । दुई जना स्टाफ नर्सको दरबन्दी भए पनि स्टाफनर्स समेत सरुवा भएर गए । द्वारिकादेवी ठकुरानीकै गाउँको यो अवस्था छ”
डाक्टर र स्टाफनर्स नभए पछि अहेवको भरमा प्राथमिक स्वास्थ्यकेन्द्र सञ्चालन भईरहेको अहेव मुकेशकान्त दयालले बताउनुभयो ।


जनता भ्वाइस 







