images
images

सिद्धबाबामा सुरुङ मार्ग : डेढ महिनाभित्र ठेक्का आह्वान गरिने

काठमाडौँ – सिद्धार्थ राजमार्गअर्न्तगतको सिद्धबाबामा निर्माण हुने सुरुङ मार्गको लागि डेढ महिनाभित्र ठेक्का आह्वान हुने भएको छ । आयोजनालाई उच्च प्राथमिकतामा राखेर अहिले ठेक्का आह्वानको कागजात बनाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

‘यो आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाउने छौं ।  अहिले, ठेक्काको लागि कागजात तयार हुँदैछ । बढिमा डेढ महिनाभित्र ठेक्का आह्वान गर्ने तयारीमा छौं’ सडक विभागका उपमहानिर्देशक शिवहरी सापकोटाले जानकारी दिनुभयो ।

उहाँले यो आयोजनालाई कुनै पनि बहानामा ढिला हुन नदिने र ३ वर्षभित्र जसरी पनि पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । ‘मृत्युमार्ग भनेर चिनिएको यो क्षेत्रमा सुरुङमार्ग बनाउन कुनै हालतमा ढिलाइ गर्दैनौँ ।  हाम्रो उच्च प्राथमिकतामा यो आयोजनामा रहनेछ।’ उपमहानिर्देशक सापकोटाले भन्नुभयो ।

सिद्धबाबामा सुरुङमार्ग बनाउन अर्थ मन्त्रालयले गत मंसिर २ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखेर स्रोतको सुनिश्चितता दिइसकेको छ । डिजाइन एन्ड बिल्ड मोडालिटीबाट खर्च गर्नेगरी १० अर्ब १५ करोड रुपैयाँको स्रोत उपलब्ध गराउँने अर्थ मन्त्रालयले जनाएको छ ।

मध्यकालीन खर्च संरचनाभित्र रहेकाले १ दशमलव २४ किलोमिटर लामो सुरुङमार्ग बनाउने स्रोत दिइएको हो । बर्खामा हिले पहिरो र हिउँदमा धुले पहिरो जाने कारण यो सडकमा बर्सेनि हुने दुर्घटनामा परि कैयौँले ज्यान गुमाएका छन् ।