काठमाण्डौ – तराईमा लागेको हुस्सु आइतबार दिनभर पनि नहट्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा अहिले लागेको कुहिरो हटेर दिउँसो घाम लाग्ने भए पनि तराईमा भने हुस्सु नहट्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
हुस्सु नहट्ने भएकाले तराईमा आइतबार न्यूनतम र अधितम तापक्रममा खासै अन्तर नहुने र चिसो हुने उहाँले बताउनुभयो । अत्यन्तै चिसो हुने र घाम नलाग्ने भए पनि त्यसलाई शितलहर भने भन्न नमिल्ने उहाँको भनाई छ । अझै एक दुई दिन तराईमा लगातार हुस्सु लाग्ने सम्भावना छ ।
मंगलबारदेखि भने पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावनासमेत भएकाले बिस्तारै कुहिरो हट्ने उहाँले बताउनुभयो । देशका अरु ठाउँमा भने आइतबार र सोमबारको तापक्रममा खासै घटबढ नहुने र बिहानतिर हल्का हुस्सु, कुहिरो लागे पनि दिउँसोतिर घाम लाग्ने सम्भावना भएको उहाँको भनाइ छ ।
काठमाडौको तापक्रम शनिबारभन्दा थोरै बढेको छ । शनिबार शून्य दशमलव ६ डिग्री मापन गरिएको काठमाण्डौको तापक्रम आइतबार बिहान १ डिग्री सेल्सियस पुगेको मौसमविदे श्रेष्ठले जानकारी दिनुभयो ।