images
images

ठेकेदार : ठेक्का अवधिभन्दा ७ महिनाअघि नै पुल बन्याे

काठमाडौँ  – कुनै कामकाे ठेक्का लिने र समयमा नै नसक्ने याे नेपाली ठेकेदारहरुकाे पुरानाे राेग हाे । जिम्मा लिएकाे सडक, पुल र भवन अलपत्र पारेर छाेडिएका उदाहरण प्रशस्तै छन् । तर सबै ठेकेदार उस्तै हुँदैनन् भन्ने गतिलाे उदाहरण दाङमा भेटिएकाे छ । तोकिएको समयभन्दा अघि दाङको ग्वारखोला पुल निमार्णकाे जिम्मा लिएको कालिका रसुवा जेभी कन्स्ट्रक्सनले भने ताेकिएकाे समय अवधिभन्दा सात महिनाअघि नै काम सकेकाे छ ।

ठेक्का सम्झाैताअघि नै पुलकाे काम सक्ने कालिका कन्स्ट्रक्सनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई बिजौरी उद्योग वाणिज्य संघले बिहीबार एक कार्यक्रमकाबीच तुलसीपुर उपमहानगरपालिका १८ बिजौरी सम्मान गरेको छ । बिजौरी उद्योग वाणिज्य सघं अध्यक्ष मुक्तिबहादुर वलि (मुकेश) को अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका १८ का अध्यक्ष माधव वलिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलिले राम्रो कामको सम्मान र सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयाे । उहाँले कालिका कन्स्ट्रक्सनले तोकिएको समयभन्दा ७ महिना अगाडि नै पुलको निमार्ण कार्य सम्पन्न गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । कन्स्ट्रकसनका प्रतिनिधि सिनेटमान श्रेष्ठले आफूले पाएको जिम्मेवारी समयमै सम्पन्न गर्नुपर्छ भन्ने मान्यताका साथ काम अगाडि बढाएको र त्यही अनुरुप सम्पन्न गर्न सफल भएको बताउनुभयो ।