images
images

अध्यक्ष जोशी : पार्टी मिल्यो मन मिलाएर अघि बढ्नुस

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका शहिद लखन गाउँपालिका अध्यक्ष मनोज जोशीले देशैभरी पार्टी एकता भईसकेको र शहिद लखन गाउँपालिका पनि एकता सकिएर पार्टी मिलेको बताए । पार्टी मिल्यो तपाईहरु सबै कार्यगत एकता गरेर मन मिलाउनुहोस र अघि बढ्नुहोस उनले भने ।

गाउँपालिका स्थित वडा नं. १ बक्राङको पार्टी कमिटि सपथ ग्रहण तथा पूर्ण वैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । साविकको माओवादी र एमाले पार्टी एकता पछि नेकपा बनाउँदै २९ सदस्यीय गाउँ कमिटि निर्माण गरिएको उनले बताए । देशमा विकासको लहर आएको दावी गर्दै यसलाई सबैले सहि मार्गमा निर्देशन गर्नुपर्ने उनले बताए । पार्टी संगठनमा कम्युनिष्ट नीति र सिद्धान्त विरोधी कुनै पनि गतिविधि स्वीकार्य नहुने उनको भनाई थियो ।

नेकपा शहिद लखन गाउँपालिका कमिटि सचिव धु्रव खनालले नेकपा बक्राङको पार्टी हाक्ने टिम बलियो बनेको बताउँदै शहिद लखनमा सबै भन्दा धेरै सम्भावना बोकेको ठाउँ बक्राङ रहेको बताए । जिल्ला पार्टी सदस्य राजेन्द्र न्यौपानेले पार्टी र सत्ता समानान्तर चल्नुपर्ने बताउँदै निकट भविष्यमा शहिद लखन गाउँपालिका नगरपालिका हुने उनले बताए । समृद्ध बक्राङ निर्माणमा सबै एक भएर अघि बढ्नुपर्ने उनको जोड छ । वनजंगल संरक्षण गर्ने, शैक्षिक क्षेत्र गुणस्तरीय बनाउने, जनप्रतिनीधि र पार्टी नेता तथा कार्यकर्ताहरु जनता प्रति वफादार हुने, गाउँ बाहिर रहेका जनशक्तिहरुलाई गाउँमै ल्याउने र उहाँहरुको सीपलाई उत्पादनमा लगाउने तर्फ सबैको ध्यान जानुपर्ने उनले बताए । संघीय शासन प्रणालीमा स्थानीय तहलाई दिइएका अधिकारहरु जनताको हितमा अधिकतम प्रयोग गर्न उनले सुझाए ।

राष्ट्यि युवा संघका गोरखा जिल्ला संयोजक अशोक शर्माले सबै युवाहरुलाई रोजगार प्रदान गरी उनीहरुबाट धेरै काम लिन आग्रह गरे । युवा जनशक्तिलाई उत्पादनमुलक कार्यमा लगाई विदेश जानबाट रोक्नुपर्ने उनले बताए । विकृति र विसंगतीका विरुद्ध जस्तासुकै कदम चाल्न पनि युवा संघ पछि नपर्ने शर्माले बताए । गोरखा जिल्लामा भएका खराब काम र त्यस्ता कार्य गर्ने जनप्रतिनिधिहरुको सूचिकरण भईरहेको समेत उनले बताए ।

कार्यक्रममा विद्यार्थी नेता राजन आले, नेकपा जिल्ला समिति सदस्य संजिव थापा लगायतले मन्तव्य राखेका थिए । पार्टी कमिटि अध्यक्ष दीप बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव भीम बहादुर आले मगरको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संघीय समाजबादीको गाउँ कमिटि नेकपामा विलय भएको घोषणा गरिएको संघीय समाजवादी पार्टीका बक्राङ अध्यक्ष टिकाराम खनालले बताए ।