काठमाडौँ – नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ ।
राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरु मध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् । रक्सी सेवन गरेपछि उनीहरुले सुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए ।