काठमाडौं – इटालियन जायन्ट युभेन्टसलाई पराजित गर्दै लाजियोले इटालियन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा लाजियोले दश खेलाडी रहेर खेल अन्त्य गरेको युभेन्टसलाई ३-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा लाजियोलाई उपाधि दिलाउन लुइस अल्वेर्टो, सेनाद लुलिक र डानिलो काटाल्डीले गोल गरे । युभेन्टसका पाउलो डिबालाले एक गोल गरे । खेलको १६औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । पहिललो हाफको इन्जुरी समयमा पाउलो डिबलले युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।
७३औं मिनेटमा सेनादले गोल गर्दै लाजियोलाई २-१ को अग्रता दिलाए । इन्ज्युरी समयको तेस्रो मिनेटमा युभेन्ट्सका रोड्रिगो बेन्टानकर रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दश खेलाडीमा झर्यो । त्यसपछि डानिलो काटाल्डीले गोल गर्दै लाजियोलाई ३-१ को जित दिलाए ।