images
images

डेरी उद्याेगमा इलामका युवाकाे आकर्षण

काठमाडौँ – इलामका डेरी उद्योगमा पछिल्लो समय युवाको आकर्षण बढ्दै गएको छ । थोरै लागनीमा गाउँमा नै स्वरोजगार बन्न सकिने भएकाले डेरी उद्योगमा युवाको आकर्षण बढेसँगै बर्सेनि लगानी पनि थपिँदै गएको हो । घरेलु तथा साना उद्योग शाखा कार्यालय इलामको तथ्याङ्कअनुसार डेरी उद्योगमा मात्रै बर्सेनि ११ करोड रुपैयाँभन्दा बढी लगानी थपिएको छ । कार्यालयका सूचना अधिकारी युवराज घोर्साइले पछिल्लो चार महिनामा इलाममा २१ वटा डेरी उद्योग स्थापना भएका छन् ।गएको साउन महिनायता थपिएको उद्योगमा मात्रै तीन करोड १५ लाख ७८ हजार रुपैयाँ लगानी भएको छ । स्थानीयस्तरमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन्छ । घिउ भने नेपाली बजारमा नै बिक्री हुँदै आएकाले बजारमा समस्या छैन ।

बजारमा सहज भएकाले अधिकांश वैदेशिक रोजगारीबाट फर्किएकाहरुले डेरी उद्योगको व्यवसाय गर्न थालेको अधिकारी घोर्साइको भनाइ छ । पछिल्लो समय यही कारणले उद्योगमा लगानी थपिँदै गएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७५/०७६ मा मात्रै इलाममा ९१ वटा डेरी उद्योग दर्ता भएका छन् । ती उद्योगमा ११ करोड २७ लाख १६ हजार रुपैयाँ लगानी भएको छ । एउटा डेरी उद्योगमा डेढ लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म लगानी गरिएको पाइएको छ । इलाममा अहिले पाँच सय ४४ डेरी उद्योग सञ्चालनमा रहेका छन् । यी डेरी उद्योगमा ५० करोड ३४ लाख ८८ हजार रुपैयाँ लगानी भएको छ ।