images
images

संसदीय समितिमा विवाद अन्तर्राष्ट्रिय खेलाडीकाे परिभाषाबारे

काठमाण्डाै – प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठक अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के हुने भन्ने विषयमा कुरा नमिल्दा अड्किएको छ । अन्तर्राष्ट्रिय खेलमा सहभागी भएर पदक ल्याएको खेलाडीलाई मात्र अन्तर्राष्ट्रिय खेलाडी भन्ने वा सहभागी हुने सबैलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिने भन्ने विषयमा कुरा नमिल्दा बैठक लम्बिएको छ । अन्तर्राष्ट्रिय खेलाडीको परिभाषाका विषयमा शुक्रबार पनि कुरा नमिल्दा समिति सभापति जयपुरी घर्तीले युवा तथा खेलकुद मन्त्रालयलाई थप गृहकार्य गरेर आउन निर्देशन दिनुभएको छ ।

बैठकमा सांसद गगन थापाले खेलाडी छनोट गर्दा अन्तर्राष्ट्रिय खेलामा सहभागी हुने खेलाडी भनेर छनोट गर्ने तर कुनै पदक नल्याएपछि अन्तर्राष्ट्रिय खेलाडी होइन भन्न नमिल्ने बताउनुभयो । ‘छनोट गर्दा तिमी अन्तर्राष्ट्रिय खेलमा सहभागी भयौ । मेडल ल्यायौँ भने अन्तर्राष्ट्रिय खेलाडी भयौ. नल्याएको खण्डमा सहभागी मात्रै भयौँ भन्न मिलेन’, थापाले भन्नुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका सांसद जीवनराम श्रेष्ठले मेडल जित्नु र सहभागी हुनु फरक कुरा भएकाले सहभागी हुने खेलाडीलाई समेत अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताउनुभयो । प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भए पनि सहभागीलाई समेत मान्यता दिनुपर्ने धारणा उहाँको थियो ।