images
images

नौमती बाजा बजाउने महिला समूह

काठमाण्डौ – महिलाले बाजा बजाउन हुन्न भन्ने परम्परागत धारणालाई अन्त्य गर्न महिलाको एउटा समूहले नौमती बाजामार्फत् समाजमा सशक्तीकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजाको संरक्षण र संवर्द्धन गर्दै सामाजिक परिवर्तनको अभियानलाई अघि बढाएका हुन् ।

नौमती बाजा पञ्चेबाजाको ठूलो रुप हो । यसमा अन्य चार थान सहनाइ र दमाहा थपिएका हुन्छन् । पञ्चेबाजामा दमाह, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ रहेका छन् ।

नौ जना वाद्यवादक लोक कलाकारले सुर र ताल मिलाएर एकै पटक बजाइने भएकाले यो बाध्य समूहलाई नौमती बाजा भनिएको हो । नौमती बाजा समूहकी अध्यक्ष जानुका पौडेलले सांस्कृतिक क्षेत्रमा महिलाको सहभागिता र लोपोन्मुख बाजाको जगेर्ना गर्न अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

नौमती बाजा समूहले २०७० सालबाट महिलालाई तालिम दिन थालेको हो । पछिल्लो समय यसमा महिलाको आकर्षण बढेको समूहले जनाएको छ ।  नौमती बाजा नेपाली धार्मिक, एवं सांस्कृतिक सम्पदाको रुपमा विवाह, व्रतबन्ध, विदेशी पाहुनाको स्वागत र बिदाइ, राष्ट्रिय–अन्तर्राष्ट्रिय सभा समारोहदेखि विशेष कार्यक्रममा बजाइने गरिन्छ ।