images
images

कता हरायो पौडेलको नैतिकता ?

काठमाडौँ – ‘पार्टीमा देखिएको भागवण्डाको राजनीति अन्त्यका लागि मेरो उम्मेदवारी अनिवार्य देखेर सभापति पदमा उम्मेदवारी दिन लागेको हुँ, ६०/४० को भागवण्डा अन्त्यका लागि मैले नेतृत्वमा हस्तक्षेप गर्नु जरुरी ठानेको छु । काँग्रेसका तत्कालिन कार्यवाहक सभापति रामचन्द्र पौडेलले २०७२ फागुन ६ गते राजधानीको अनामनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा काँग्रेस सभापति पदमा उम्मेदवारी घोषणाका क्रममा गरेको प्रतीज्ञा हो यो ।

‘६०/४० प्रतिशतको भागवण्डाका विषयमा कसले दियो र कसले माग्यो भन्ने आम कार्यकर्तालाई थाहा छ,’ त्यतिबेला पौडेलले भनेका थिए, ‘त्यसका विरुद्ध रहेका आम कार्यकर्ताको सुझाव र अहिलेको अवश्यकताका आधारमा मैले उम्मेदवारी दिन लागेको हुँ । यतिमात्र होइन, उनले भागवण्डा विरोधी आफ्नो अभियान लिएर देश दौडाहा गरे । कार्यकर्तामाझ उनले भागवण्डा प्रथाको चर्को विरोध गरे । यद्यपि उनी काँग्रेसको १३ औँ महाधिवेशनमा पराजित भए । सभापति पदमा शेरबहादुर देउवा विजयी भए, जो त्यस अघिसम्म पार्टी नेतृत्वसँग ६०/४० को भागवण्डा लिएर पार्टीभित्र पकड बनाउँदै आएका थिए ।

अहिले परिस्थिति बदलिएको छ । काँग्रेसभित्र हुने मनोनयन, विभाग गठन, भ्रातृ संगठनमा मात्र होइन, सरकारमा पनि काँग्रेसका कोटामा परेका नियुक्तिमा ४० प्रतिशत हिस्सा लिँदै आएका देउवाले पार्टीको नेतृत्व गर्दै आएका छन् । विगतमा पार्टी नेतृत्वसँग आफूले हासिल गर्दै आएको भागवण्डालाई निरन्तरता दिने सवालमा उनी आफू सभापति बनेपछि कञ्जुस देखिएका छन् भने भागवण्डा प्रथा अन्त्य गर्छु भनेर प्रतिज्ञा गरेका पौडेल आफैँ भागवण्डाका लागि नेतृत्वसँग संघर्ष गर्न थालेका छन् ।