images
images

नेपाली सेना फर्किए लाप्राकको नमूना बस्तीबाट

काठमाडौँ – लाप्राकको गुप्सीपाखामा निर्माणाधिन एकीकृत नमूना बस्तीबाट नेपाली सेना बाहिरिएको छ । आफूले लिएको जिम्मेवारी पूरा भएको रणसिं दल गणका गणपति उज्वल केसीले बताए । तर वस्ती निर्माणको काम भने सम्पन्न भएको छैन ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जिम्मा लिएको उक्त वस्ती निर्माणमा २०७३ मंसिर १५ गतेबाट सेनाको टोली खटिदै आएको थियो । गत असारसम्म श्रमदान गरेको सेनाले त्यस यता वस्तीमा सुरक्षा दिने काम गरिरहेको थियो ।

‘दुई बर्षमा वस्ती निर्माण सक्ने भनेर सोही अवधि सम्मका लागी सम्झौता भएको थियो,’ गणपति केसीले भने, ‘तर काम नसकिएर पटक पटक म्याद थप भयो ।’ वुधवारबाट वस्तीमा खटिएको टोली फिर्ता बोलाइएको उनले बताए । अधिकृतको कमाण्डमा हाल ३० जनाको टोलीले वस्तीमा सुरक्षा दिइरहेका थिए । उनीहरुलाई स्थानीयले फूलमालासहित बिदा गरेका छन् । वस्ती निर्माणका लागि सेनाले करिव आठ करोड रकम बराबरको श्रमदान गरेको गणपति केसीको भनाइ छ ।

सेना बाहिरिएसँगै वस्तीको सुरक्षार्थ नेपाल प्रहरी खटिएको छ । अस्थायी विट स्थापना गरेर आजबाट प्रहरी बस्ने एसपी ओमप्रसाद अधिकारीले बताए । ‘टोली बारपाक पुगिसकेको छ, आजै लाप्राकको वस्तीमा पुग्छ, वस्ती हस्तान्तरण नभएसम्म त्यो टोलीले सुरक्षा दिन्छ,’ उनले भने ।

वस्ती निर्माणमा ढिलाइ गरेको एनआरएनएले बैशाख १२ गते स्थानीयलाइ वस्ती हस्तान्तरण गर्ने बताएको छ । राष्ट्रपतिको हातबाट वस्ती हस्तान्तरण गर्ने योजना रहेको एनआरएनएका इन्जिनियर लक्ष्मण अर्यालले बताए ।

अहिले वस्तीका घरहरुमा शौचालय निर्माणको काम भइरहेको छ । घर निर्माणको काम ९० प्रतिशत र शौचालय निर्माणको काम ६० प्रतिशत सकिएको उनको भनाइ छ । हिमपात भएसँगै अहिले काम रोकिएको छ । ५७३ घरधुरीका लागी एनआरएनएले गुप्सीपाखामा वस्ती निर्माण गरिरहेको हो ।