images
images

बेलायतबाट धेरैभन्दा धेरै पर्यटक नेपाल पठाइदिनुस : अर्थमन्त्री खतिवडा

काठमाण्डाै – अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा अर्थमन्त्री डा. खतिवडाले नवनियुक्त राजदूतलाई स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिनुभयो । साथै, नेपालको सहयोगमा बेलायत सरकारबाट सदियौँ देखि प्राप्त सहयोगको लागि धन्यवाद दिनुभयो । अर्थमन्त्रीले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, राजस्व क्षेत्रमा भएका सुधार, व्यापारको अवस्था लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

अर्थमन्त्रीले भूकम्पपछिको पुनर्निर्माणका लागि बेलायत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिनुभयो । बेलायतसँग दोहोरो कर मुक्ति सम्झाैताको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उहाँले लगानीको वातावरणमा सुधार भएकोले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडक लगायतमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध गर्दै माननीय अर्थमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० मा बढीभन्दा बढी बेलायती पर्यटकलाई भ्रमण गर्न समेत आग्रह गर्नुभयाे ।

राजदूत पोलिटले नेपाल र बेलायतबीच लामो सम्बन्ध भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ । उहाँले बेलायत सरकारले नेपालको स्थायित्वलाई खुशीका साथ हेरिरहेको बताउँदै नेपालको प्राथमिकता अनुसार बेलायत सरकारले आगामी दिनमा सहयोग गर्ने बताएको अर्थमन्त्रालयले जनाएको छ ।