images
images

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको भिडन्त रियल मड्रिडसँग

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तरगत अन्तिम १६ मा इङ्लिस च्याम्पियन म्यानचेस्टर सिटीले स्पेनिस महारथि रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । सोमबार अपरान्ह भएको अन्तिम १६ को ड्रमा सिटीले कठिन प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने भएको हो।

सिटीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। पेप ग्वार्डिओलाको कमानमा रहेको सिटीका लागि रियलसँगको भिडन्त एउटा धक्का जस्तै भएको छ। अर्कातिर च्याम्पियन्स लिग अन्तरगत अन्तिम १६ को नकआउट भिडन्तमा जर्मन क्लब बोरुसिया ड्रटमन्ड र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन आमने सामने हुने भएका छन्।

डिफेन्डिङ च्याम्पियन लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। अर्को इङ्लिस क्लब चेल्सीले अन्तिम १६ मा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ।  त्यसैगरी इटालियन च्याम्पियन युभेन्ट्सले फ्रान्सेली क्लब लियोनसँग भिडन्त गर्नेछ। स्पेनिस क्लब भ्यालेन्सियाले इटालियन क्लब एटलान्टासँग प्रतिस्पर्धा गर्ने भएको छ।

स्पेनिस च्याम्पियन बार्सिलोनाले इटालियन क्लब नापोलीसँग प्रतिस्पर्धा गर्ने छ। त्यसैगरी इङ्लिस क्लब टोटनह्यामले जर्मन क्लब आरबी लेपिजसँग खेल्ने भएको छ।