images
images

मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने २२ उद्योगको उत्पादनमा रोक

काठमाडौं – मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ भन्दा बढी स्थानमा सञ्चालित उद्योगको अनुगमन गरेलगत्तै ती उद्योगहरुको उत्पादनमा रोक लगाइएको हो।

विभागका महानिर्देशक डा मतिना वैद्यले विभागसँग भएको सम्झौता र अनुमतिलाई अवज्ञा गर्दै खान अयोग्य र अस्वस्थ खाद्यान्न तथा पिउने पानी उत्पादन गरी बिक्री वितरण गरेकाले उद्योग बन्द गरिएको जानकारी दिए। उनले बन्द गरिएका उद्योगको नाम दिन अस्वीकार गर्दै बन्द उद्योगको अभियोग प्रमाणित भएमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाही गरिने बताए।

नेपालको खाद्य ऐन तथा नियमावलीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने खाद्यान्न तथा पिउने पानी उत्पादन गरेको प्रमाणित भएमा रु ५० हजार जरिवाना र पाँच वर्षसम्मको जेल सजाय निर्धारण गरेको छ।