images
images

दुर्घटनामा मृत्यु भएका १५ जना मध्ये ६ जनाको सुनकोशी नदीमा सामुहिक अन्त्येष्टि

सिन्धुपाल्चोक – सुनकोशी दुर्घटनामा मृत्यु भएका १५ जना मध्ये ६ जनाको सोमबार सुनकोशी नदी किनारमा सामुहिक अन्त्येष्टि गरिएको छ।  आइतबार सिन्धुपाल्चोकको जुगल गाँउपालिका ७ याङ्लकोटका ५ जना र बलेफी गाउँपालिका ५ चिम्लिङका १ जना गरी कुल ६ जनाको सामुहिक अन्त्येष्टि गरिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए।

मृतकमध्ये ७ जनाको शव पोष्टमार्टम सकेर आइतबार साँझ नै परिवारले बुझेर लगिसकेको छ भने एक जनाको शव भने परिवारले लाश बुझ्न बाँकी नै रहेको प्रहरी निरीक्षक न्यौपानेले बताए।  दुर्घटनाग्रस्त बसका चालक सुमन तामाङ भने अझै पनि सम्पर्कमा आएका छैनन्। चालक तामाङकी श्रीमती सुनिता तामाङको समेत मृत्यु भएको छ। सुनिताको शव भने अझै पनि परिवारले बुझ्न नआएको प्रहरीले जानकारी दिएको छ।

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका १० का तामाङको मोबाइल स्विच अफ रहेको र परिवारमा खोजतलास गर्दा समेत फेला नपरेको प्रहरीको भनाइ छ।  आइतबार दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ जाँदै गरेको बा.२ ख. ४४६८ नम्बरको रिजर्भ बस बिहान सुनकोशी गाउँपालिकाको ६ किलोमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो।

६ किलोबाट बस करिव ५ सय मिटर तल खसेर क्षतविक्षत भएको थियो। विभिन्न जिल्लाबाट गई भक्तपुर बस्ने समूह मिलाई बस रिजर्भ गरी दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका र फर्कने क्रममा सो वस दुर्घटना भएको थियो। तिव्र गति र चालकको लापरबाहीकै कारण दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजेश दाहालले बताए।