images
images

उत्तर कोरियाविरुद्ध नेपाल सरकारले चालेको कदम गलत: अध्यक्ष नारायणमान बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उत्तर कोरियाविरुद्ध नेपाल सरकारले चालेको कदम गलत भएको बताएका छन।  भक्तपुर च्यामासिंहस्थित बागीश्वरी माध्यमिक विद्यालयको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष बिजुक्छेंले अहिलेको सरकारमा अमेरिकी प्रतिनिधि (एजेन्ट) को घुसपैठ हुनसक्ने आशंका व्यक्त गर्दै उत्तर कोरिया विरुद्धको सरकारी कदमको निन्दा गरेको हो।

सरकारले हालै संयुक्त राष्ट्र संघले उत्तर कोरियाविरुद्ध लगाएको नाकाबन्दी कार्यान्वयन गर्दै त्यहाँका नागरिकलाई स्वदेश फर्काएको थियो।  सरकारको उक्त कदमको विरोध गर्दै अध्यक्ष बिजुक्छेंले सरकारको उक्त कार्य निन्दनीय र गलत भएको बताएका हुन। उनले भने, ‘सरकारले उत्तर कोरियाका व्यवसायीलाई स्वदेश फर्काउनु फासीवादी काम हो।’ उनले नयाँ पुस्ताका विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा पैदा हुँदा देश कमजोर हुने बताउँदै शासक दलले पैसाको माध्यमबाट चुनाव जित्नु गलत र निन्दनीय भएको बताए।

नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले सरकार निजी विद्यालय सञ्चालकको प्रभावमा परेको र शैक्षिक माफियाको चंगुलमा फस्दै गइरहेको आरोप लगाए।  नेपालको संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने प्रावधान हुँदा पनि सरकारले यसतर्फ ध्यान नपुर्‍याएको उनले बताए। ‘सरकारले सामुदायिक शिक्षा नीतिमा रुचि देखाइरहेको छैन, निजीकरण र व्यापारीकरणकै पक्ष लिएको देखिन्छ’, उनले भने।

कार्यक्रममा कलेजका उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापका विजयीहरूलाई पुरस्कार, मेडल तथा सम्मान पत्र प्रदान गरिएको थियो।