images
images

धनकुटा गोल्डकपको उपाधि दुहवी फुटवल क्लवले पाए

धनकुटा – दुहवी फुटवल क्लव सुनसरीले धनकुटाको हिलेमा जारी प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि उचालेको छ। सोमबार भएको फाइनल खेलमा दुहवीले रोयल धरान फुटवल फेन्ड क्लवलाई सडेन डेथमा पराजित गर्दै उपाधि हात पारेको हो।

निर्धारित समयको खेल दुइ/दुइ गोलमा सकिएपछि खेल टाइ बेकरमा गएको थियो। खेल सुरु भएको पाँचौ मिनेटमा दुहबीका जर्सी नम्बर १६ का कविन्द्र चौधरीले फ्रि किकमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए। १२ औं मिनेटमा दुहबीले डि बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै धरानका जर्सी नम्बर १३ का रिवास मास्केले गोल गर्दै बराबरीमा पुर्‍याए।

त्यसपछि १८ औं मिनेटमा दुहबीका जर्सी नम्बर १६ का कविन्द्र चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए।  खेलको २५ औं मिनेटमा धरानका जर्सी नम्बर ७ का पुजन लिम्बूले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए। त्यसपछि निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल सिधै टाइ बेकरमा धकेलिएको थियो। टाइ बेकरमा दुबै तर्फबाट चार चार गोल भएको थियो। पुन: तीन-तीन जनाले हानेको टाइ बेकरमा समेत दुबैतर्फबाट तीन तीन गोल भएपछि खेल सडेन डेथ तर्फ धकेलिएको थियो।

सडेन डेथमा दुहबीका क्याप्टेन सिर्जित कार्कीले प्रहार गरेको बल गोल भएको थियो भने धरानका क्याप्टेन सुबोध शाहीको प्रहार भने पोष्टमा लागेर फर्किएको थियो। उपाधिसँगै दुहबीले ट्रफि र एकलाख रुपैयाँ हात पारेको छ। त्यस्तै उपबिजेता धरानले ५० हजारमा चित्त बुझाएको छ। प्रतियोतिामा पूर्वका विभिन्न आठ टोलीको सहभागिता रहेको थियो। खेलको उत्कृष्ट गोलकर्ता दुहबीका कविन्द्र चौधरी र उत्कृष्ट किपर दुहबीकै सुजित चौधरी घोषित भए भने उत्कृष्ट खेलाडि धरानका विकु तामाङ घोषित भए। उनीहरूलाई जनही ५ हजार रुपैयाँ र मेडल पुरस्कार पाए।