काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई भारतमा भ्रष्टाचारविरुद्धको तालिम दिइएको छ। अख्तियारका २१ जना अधिकारीको पहिलो ब्याचले गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटीमा उक्त तालिम लिएका हुन्। उनीहरुलाई ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’बारेमा सोमबारदेखि ६ दिन लामो तालिम दिन थालिएको हो।
यस तालिमले नेपाली अधिकारीको क्षमता विकासमा भारतको निरन्तर प्रतिबद्धतालाई पुष्टि गर्ने भारतीय दूतावासले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जनाको दोस्रो ब्याचले २०७६ पुस २६ गतेदेखि माघ २ गतेसम्म त्यही प्रशिक्षण लिने कार्यक्रम छ। नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४२ अधिकारीका लागि तयार पारिएको यो एक विशेष कोर्ष हो।
नेपालमा भ्रष्टाचारका गतिविधिमा अंकुश लगाइ सुशासन कायम राख्न यो कोर्षले अख्तियारको संस्थागत क्षमतालाई सुदृढ पार्ने बताइएको छ। तालिममा भ्रष्टाचारका कारकको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुबारे सिकाइनेछ। सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कार्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरु सिक्न मद्दत गर्ने बताइएको छ।
यस तालिमले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरुको पहिचान, निवारण एवम् कानूनी कारवाही गर्न अधिकारीलाई सक्षम बनाउने भारतीय दूतावासले जनाएको छ। फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिन प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको हो। भारत सरकारको पूर्ण सहयोग रहेको यो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गतको हो।