बारा – मालसमान ओसारपसार गरे बापत ढुबानी भाडामा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) बारे साना स्वरोजगार यातायात व्यवसायी अन्योलमा परेका छन्।सरकारले भोलि (पुष १ गते) देखि ढुवानी भाडामा भ्याट अनिवार्य लागू हुने गरी चालु आर्थिक वर्षको बजेटमै उल्लेख गरेपछि साना स्वरोजगार यातायात व्यवसायी अन्योलमा परेका हुन्।
चालु आर्थिक वर्षको आर्थिक विधेयक (बजेट) मार्फत सरकारले ऐन संशोधन गरी अनुसूची १ बाट ढुवानी सेवालाई हटाई साना–ठूला सबै प्रकारका ढुवानी सेवामा भ्याट लाग्ने जनाइएको छ। यातायात व्यवसायी पेशल मुल्मीले यातायात व्यवसायी महासंघले भ्याटमा जाने प्रकिया बारेमा साना व्यवसायीलाई जानकारी नगराई सरकारसँग आफूखुसी सहमति गरेको आरोप लगाएका छन्। ‘ढुवानी भाडामा भ्याट लगाउँदा ५० वटा गाडी चलाउने ठूला व्यवसायीलाई त कुनै फरक नपर्ला तर सहकारीवाट ऋण लिएर हामीजस्ता एउटा दुईवटा गाडी सञ्चालन गर्ने व्यवसायीलाई त धेरै मर्का पर्छ’ मुल्मीले भने।
उनले साना स्वरोजगार यातायात व्यवसायी अधिकांश लेखपढ गर्न नजान्ने औठा छाप भएकोले ढुवानी भाडामा भ्याट बिल कसरी काट्ने, सडकमा ढाँडलाई बुझाएको रकमको कसरी हिसाव राख्ने अन्योल रहेको जनाए। हालसम्म साना यातायात व्यवसायीले भ्याट बिलबिनै सम्पर्कका भरमा काम गर्दै आएका छन्। अहिलेसम्म नेपालमा सामान ओसार पसार गर्ने गराउने कार्य ढुवानी सेबाले गर्दै आएका छन्। उनीहरू उद्योगी (सामान उत्पादन गर्ने) र ट्रक मालिकबीचको ब्रोकर (दलाल)का रुपमा छन्। ढुवानी व्यवसायीले उद्योगी व्यापारीमार्फत निश्चित गन्तव्यमा पुर्याउनुपर्ने सामानको अर्डर लिने र गाडी मालिकबाट ट्रक लिई सामान गन्तव्यमा पुगेपछि ट्रक ड्राइभरलाई भाडा दिने प्रक्रियाबापत कमिशन ट्रकसँग लिने गर्दछन्। हाल उद्योगी ब्यापारीलाई जति संख्यामा ढुबानी साधन चाहिन्छ ब्रोकरले ट्रक पठाइ दिने कार्य देशभर चल्दै आएको छ। ब्रोकर (दलाल) को यो भूमिकाले उद्योगले ट्रकवालासँग डिल गर्नु परेन र ट्रकवालाले पनि सामान दिने उद्योग खोज्दै हिँड्नु पर्दैन।
आन्तरिक राजस्ब बिभागका उपमहानिर्देशक मुक्ति पाण्डेले ढुवानी भाडामा भ्याट लगाउने नीति पुस १ गतेदेखि नै कडिकडाउ रुपमा लागू नभएर चालु आर्थिक वर्षभित्र विस्तारै कार्यान्वयन गर्दै लैजाने बताए। ‘साना यातायात व्यवसायी भ्याटमार्फत कसरी कारोवार गर्ने भन्ने विषयमा केही अन्योल र अस्पष्ट रहँदा यस्तो देखिएको हो’ उपमहानिर्देशक पाण्डेले भने। हाल देशभर २४ वटा मालवाहक यातायात व्यवसायी संघ छन्। सो संघमा मात्रै ६० देखि ७० हजार यातायात व्यवसायीहरू आवद्ध रहेका छन्। यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाले स्वरोजगार यातायात व्यवसायीले स्थानीय तहमा (वडा वा नगरपालिकामा) संस्था दर्ता गरेर २० लाख सम्मको कारोवार आन्तरिक राजस्व कार्यालयमार्फत गर्न सक्ने बताए।
‘साना यातायात व्यवसायी कुनै अन्योलमा पर्नै पर्दैन। उहाँहरूले स्थानीय तहमा संस्था दर्ता गरेर आन्तरिक राजस्व कार्यालयबाट प्यानमार्फत २० लाख सम्मको कारोवार गर्न सक्नुहुन्छ’ महासंघ महासचिव बाँनियाले भने, ‘यो नियमले साना यातायात व्यवसायीलाई कुनै समस्या पर्दैन। हामी पनि राज्यले ल्याएको नियमविपरित जोरी खोज्न जान सक्दैनौं।’ नेपालमा संगठित ढुवानी सेवा थालनी हालसम्म भएको छैन। देशभर करिब १५ हजार बढी ढुबानी ब्रोकर (दलाल) एजेण्ट ढुबानी सेबा रहेको तथ्यांक छ। मुलुक कै पहिलो पटक ढुबानीमा पथलैया बीरगंज औद्योगिक कोरिडोरमा केही ठूला एजेन्ट, दलालले भ्याट बिल काटेर ढुवानी कारोबार थालेका छन् भने भैरहवा नेपालगंज, बिराटनगरमा भने ढुबानी सेवाले प्यान बिलमै कारोबार गरेका छन्।
अहिले सबै खरिदकर्ताले समेत ढुवानी भाडा भ्याट बिल नमागेको अवस्था छ। जसले माग्ने गरेका छन् उनीहरूलाई उद्योगले सम्पर्कको दलालमार्फत ट्रक र ढुवानी भाडा भ्याट बिल माग्दै पठाई दिने गरेको उद्योग बाणिज्य संघले जनाएको छ। उद्योगले ठूला आयोजना, डिलर, निर्माण कम्पनीहरूको ढुवानी भाडामा भने आफ्नै भ्याट बिल काट्ने गरेको छ। पाँच महिना यता देशभर सीमित ढुवानी कारोबारी मात्र कम्पनीमा गई कारोबार थालेको देखिएपछि आन्तरिक राजस्व विभागले अनुगमन कडा पार्दै लैजाने र उजुरी, अनुगमन लगायतका प्रक्रियामा बिजबिजक जारी गरेको नपाइए नियमानुसार कडा कारबाही गर्ने जनाएको छ।