सर्लाही- सुकुम्वासी भूमिहीनलाई जमीनको मालिक बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छिन् । बरहथवा नगरपालिकामा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले मुलुकमा कुनै पनि नागरिक अब भूमिहीन नरहने बताइन् । त्यसको लागि कानून बनाउन लागेको उनले जानकारी गराएकी थिइन ।
अनाधिकृत रुपमा दर्ता भएका तथा भू–माफियाले कब्जा गरेका सरकारी र सार्वजनिक जग्गाको बदर गर्ने अभियानको शुरुआत देशैभरी भएको मन्त्री अर्यालले बताइन् ।
बरहथवा नगरपालिकामा पर्ने हजरिया बारह बिघा क्षेत्रमा विभिन्न व्यक्तिहरुले गैरकानुनी किसिमले दर्ता गराएको १८ बिघा १५ कठ्ठा १३ घुर सरकारी जग्गा फिर्ता तथा दोहोरो श्रेस्ता रहेको १३ कठ्ठा जग्गाको दोहोरो श्रेस्ता खारेजीको घोषणा गर्दै अब यस्ता जग्गाको खोजीमा देशैभरी कडाई गरिने उनले बताइन् ।