यसैबीच ठूलो मात्रामा इँटा नोक्सान भएपछि मूल्य बढ्ने देखिएको छ । अहिले रु १३ प्रतिगोटा पाकेको इँटाको मूल्य छ । निकै धेरै क्षति भएकाले दाङमा इँटाको मूल्य बढ्न सक्ने अध्यक्ष वलीको भनाइ छ ।
पाँच करोडको इँटा क्षति
कावासोती– शुक्रबारदेखि परेको वर्षाका कारण नवलपुरका इँटा उद्योगमा रु पाँच करोड बराबरको क्षति भएको छ । अकस्मात भएको वर्षाका कारण नवलपरासी पूर्व नवलपुरमा रहेका इँटा उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटामा पानीले क्षति पुर्याएको हो ।
वर्षाका कारण जिल्लाका नौ इँटा उद्योगमा भट्टीमा पकाउनुपूर्व (मोडलिङ गरेर राखिएको) तयारी अवस्थामा राखिएको काँचो इँटामा क्षति पुगेको हो । यहाँ रहेका नौ उद्योगमा गरेर एक करोड काँचो इँटामा क्षति पुगेको नवलपुर इँटा उद्योग सङ्घका सचिव कृष्ण गौतमले जानकारी दिनुभयो । एक करोड इँटाको लागतअनुसार करिब रु पाँच करोड बराबरको क्षति भएको सचिव गौतमले जानकारी दिए ।
नवलपरासी पूर्व नवलपुरमा रहेका रहेका नारायणी इँटा उद्योग कुजौली, पशुपति इँटा उद्योग दुम्कौली, माता मनकामना इँटा उद्योग केउरेनी, केसी इँटा उद्योग मगरकोट, नेपाल इँटा उद्योग मगरकोट, कावासोती इँटा उद्योग हेगौली, देवचुली इँटा उद्योग ढोकी, मनकामना इँटा उद्योग मध्यविन्दु मदनपुर र ट्रावा इँटा उद्योग मदनपुर मध्यविन्दुको इँटा उद्योग गरी नौवटा इँटा उद्योगमा क्षति भएको छ ।