काठमाडौँ – गत २६ गते असन्तुष्ट पक्षले बहिस्कार गरेको नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्न लागेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेपछि बस्नेगरी बोलाइएको बैठकका एजेण्डाका बारेमा नेताहरुका बीचमा अहिलेसम्म पनि विवाद नै रहेको छ ।
सभापति शेरबहादुर देउवा पक्षले तत्काल विभाग गठन गर्ने प्रस्ताव गरेको छ भने अन्य पक्षले विभागभन्दा पनि महाधिवेशनको प्रक्रिया थाल्ने कुरा प्राथमिकतामा पार्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले विभाग गठन अहिले आवश्यक नभएको र गर्ने नै भए अन्य भातृ संगठनमा नियुक्तिको विषयलाई पनि सँगसगै टुग्याउनु पर्ने सर्त राखेका छन् ।
सभापति देउवा पक्ष भने तत्काल विभाग गठन गर्ने र अन्य विषयलाई पछि टुग्याउदै गर्ने रणनीतिमा देखिएको छ । देउवा पक्षले विभाग गठन, पार्टी भित्रको समायोजन, अन्य भातृ संस्थामा नियुक्ति लगायतका विषयलाई विस्तारै गर्दै लगेर महाधिवेश पछाडी सार्ने रणनीतिमा रहेको छ ।
असन्तुष्ट पक्ष भने ती सवै विषयलाई एकैचोटी टुंग्याएर तत्काल महाधिवेशनको प्रक्रिया सुरु गरिहाल्नु पर्ने अडानमा रहेको छ । दुवै पक्षका आ आफ्नै अडानका बारेमा दोस्रो तहका नेताहरुले छलफल गरीरहेकाले आजको बैठक पनि सहज रुपमा अगाडी बढ्ने निश्चित भइसकेको छैन ।