काठमाडौं – कलाकार दीपक क्षत्रीको ५८ वर्षको उमेरमा निधन भएको छ। उनी आफ्नै घरमा सुतेको अवस्थामा मृत भेटेका हुन्। मृत्यु हुनुको कारण खुल्न नसकेका कारण उनको शव अहिले महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।
कलाकार उत्तम केसीले कलाकार क्षत्रीको निधनको खबर पुष्टि गर्दै केही घण्टामा अस्पतालबाट पोस्टमार्टमको रिपोर्ट प्राप्त भएपछि उनको निधन हुनुको कारण खुल्ने बताए। उनका अनुसार शुक्रबार साँझ एक फिल्मको स्वरांकन सकेपछि डिल्लीबजारस्थित घरको आफ्नो कोठाको चुक्कुल लगाएर सुतेका उनी शनिबार बिहान मृत भटिएका थिए। छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा उनलाई मृत अवस्थामा भेटिएको कलाकार केसीले बताए।
गत वर्ष स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका कलाकार क्षेत्रीको केही समय अगाडि शल्यक्रिया गरिएको थियो। त्यसयता उनी स्वास्थ्य थिए। उनी पछिल्लो पटक यस वर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए। दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार क्षेत्रीले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्।
जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका फिल्ममा अभिनय गरेका छन्। श्रीमती विपना बस्नेत (नक्कली हिशिला यमी) छोरीसँग मलेशियामा भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने जानकारी प्राप्त छ।


जनता भ्वाइस 








