संसद सन्चालन गर्नका लागि ओलीले आफूलाई अनुकूल हुने पात्र नेम्वाङ नै देखेका छन् । अबको संसद झनै पेचिलो हुने र सबैलाई मिलाउन सक्ने तथा निर्णायक बेलामा आफूलाई सहयोग गर्ने सभामुख ओलीले चाहेका छन् । अग्नि सापकोटा पार्टीको राम्रो नेता भए पनि सभामुखको भूमिकामा नयाँ भएकाले ओली आश्वस्त हुन नसकेको निकट नेताहरु बताउँछन् ।
सापकोटालाई सभामुख बनाउनुपर्ने दबाब र घेराबन्दीमा अर्का अध्यक्ष प्रचण्ड पनि छन् । सापकोटा प्रचण्ड निकट नेतामात्र होइन पूर्वमाओवादीका दोस्रो तहका नेताहरुमध्ये अहिले राजकीय जिम्मेवारीमा नरहेकाले पनि उनको पक्षमा दह्रो अडानका साथ उभिन प्रचण्डमाथि नेताहरुको दबाब छ ।
वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत लगायतका नेताहरुले अग्नि सापकोटालाई सभामुख बनाउन प्रचण्डमाथि दबाब बढाएका छन् । सापकोटाले ओली निकट नेताहरुसँग पनि आफ्नो पक्षमा उभिन आग्रह गरेका छन् । पूर्व एमालेभित्र माधव नेपाल लगायतका नेताहरुले सभामुखबारे मुख खोलेका छैनन् ।
सचिवालय बैठकअघि दुई अध्यक्षबीच सभामुखको सम्बन्धमा सहमति जुट्ने नेताहरु बताउँछन् । ओलीले मन्त्रिपरिषदको दोस्रो पुनर्गठनमा सापकोटा सहितका नेताहरुलाई समेट्नेगरी सभामुखमा नेम्वाङकै नाममा सहमति जुटाउन प्रयास गर्ने उनी निकट स्रोतको दावी छ ।
सापकोटा पार्टीको प्रभावशाली नेता भएकाले सभामुखको भूमिकामा उनी सन्तुलनकारी बन्न नसक्ने तर्कसमेत नेम्वाङ पक्षधरले गरेका छन् । तर सभामुख पद पूर्व माओवादीले यसअघि नै शक्ति सन्तुलनका आधारमा पाएकाले पूर्वएमालेले दावी गर्नु नै राजनीतिक रुपमा बेठीक रहेको प्रचण्ड निकट नेताहरुको भनाइ छ ।
पार्टी एकीकरणअघि नै राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष पूर्वएमालेले र उपराष्ट्रपति तथा सभामुख पूर्वमाओवादीले पाउने समझदारी भएको थियो । अब सभामुखसमेत पूर्वएमालेले लिएर पूर्वमाओवादी पक्षलाई हरेक मोर्चामा कमजोर बनाउन खोजिएको आरोपसमेत लागेको छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेर राजिनामा दिएपछि डेढ महिनादेखि सभामुख पद रिक्त छ । यसबीचमा विधेयक प्रमाणिकरण बाहेक सभामुखले गर्ने काम उपसभामुख तुम्बाहाम्फेले गर्दै आएकी छन् ।