काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) ले ३० जिल्लामा अधिवेशन टुंग्याएको छ । बैशाखमा हुने महाधिवेशनको तयारीका लागि राजपाले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ ।
राजपा महासचिव केशव झाले यसै महिनामा सबै जिल्लामा अधिवेशन सक्ने उद्देश्य राखेर अधिवेशन भइरहेको जानकारी दिए । ‘अहिले ३० जिल्लामा अधिवेशन सकिएको छ,’ महासचिव झाले नयाँ पत्रिकासँग भने, ‘उपनिर्वाचन कारण रोकिएको अधिवेशन हामीले पुनःसुरु गरेका हौं ।’
एकता प्रयास जारी
महासचिव झाले समाजवादी पार्टी नेपालसँग पार्टी एकताको प्रयास भइरहेको जानकारी दिए । गत चैतदेखि समाजवादी र राजपाबीच पार्टी एकताको विषयमा चर्चा चले पनि नौ महिना भइसक्दासमेत सकारात्मक संकेत देखिएको छैन । महासचिव झाले भने, ‘समाजवादी पार्टीसँग एकताको विषयमा शीर्ष तहमा वार्ता भइरहेको छ ।’
पार्टी संरचना, पदीय बाँडफाँडका विषयमा सहमति नजिक पुगे पनि समाजवादीले सरकार नछोडेसम्म पार्टी एकता नहुने झाले बताए ।


जनता भ्वाइस 







