काठमाडौं – डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन २० लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सडक निर्माणअन्तर्गत रनिङ बिलको भुक्तानीका लागि ठेकेदारसँग मागेको २० लाख घुससहित श्रेष्ठ र महर्जन काठमाडौंबाट पक्राउ परेका हुन् ।
बिल भुक्तानीका लागि डिभिजन सडक प्रमुखले घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको प्रधान कार्यालय काठमाडौंबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो । सिनियर डिभिजनल इन्जियिर श्रेष्ठ र इन्जिनियर महर्जनलाई घुस रकम लिइसकेको अवस्थामा काठमाडौं–१० स्थित रोयल अलिना बेकरी क्याफेबाट पक्राउ गरिएको जनाएको छ
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
यसैबिच, विभिन्न प्रलोभनमा पारेर ठगी गर्नुका साथै नेपाली बैंक तथा वित्तीय संस्थाहरु समेत ह्याक गरेर रकम चोर्ने कार्यमा संलग्न गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सो समूहले कृषि विकास बैंक र पानश रेमिट ह्याक गरेको र त्यसरी ह्याक गरेको तथा ठगी गरेको रकम विभिन्न १७ वटा बैंकमा राखेर कारोबार गर्दै आएका थिए । ४० नेपाली एजेण्टहरुले सो कार्य गर्नका लागि एक जनाले ६ वटासम्म खाता खोजेको पाइएको र हालसम्म उनीहरुले १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यस्तै, सर्लाहीको त्रिभुवन नगरस्थित प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरीलाई ५० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव घुससहित पक्राउ परेका हन् ।
उनीहरुले भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदा भित्र्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको थिए ।
त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत इन्सपेक्टर जयनेपाल थापालाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
महाशाखाको मानव बेचबिखन अपराध पिलरमा कार्यरत थापालाई आज घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


जनता भ्वाइस 







