कार्यक्रममा नेविसंघका नेता मनोज वैद्यले भने, ‘कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्छ र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’
आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर-१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज-कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन् ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलीकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।