बागलुङ – पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले धर्मको खरिद बिक्री भइरहेको बेला हिन्दु धर्मको आस्थाको केन्द्र बनाएर पर्यटक भित्राउने काम थालिनु खुसीको कुरा भएको बताए। बागलुङको कुडुले फेदीमा निर्मित श्रीधरस्वामी शालीग्राम संग्रहालयको उद्घाटन गर्दै देउवाले धार्मिक पर्यटकबाटै ठूलो उपलब्धि गर्न सकिने समेत बताए।
उनले सनातन धर्म संकटमा पुगेको बेला यसता संग्रहालयले हिन्दुधर्म रक्षामा सहयोग पुग्ने बताए। ‘पर्यटक धार्मिक आस्थाका बढी छन्। उनीहरूको घुमाइबाट राम्रो आम्दानी गर्न सकिन्छ’ देउवाले भने, ‘घरघरमा पुजिने शालीग्राम संग्रहालयमा पुगेर हेर्न पाउनु राम्रो काम हो।’ संग्रह गर्ने र सुरुङ मार्ग बनाएर संग्रहालयको स्वरुप दिने सबै धन्यवादको पात्र भएको उनले बताए। कुडुँलेमा एकसय मिटर लामो सुरुङ बनाएर एकलाख २५ हजार शालीग्राम संग्रह गरिएको छ।
ती शालीग्रामलाई सिसाभित्र राखेर बत्ती समेत बालेर सहज रुपमा हेर्न सकिने बनाइएको हो। सभापति देउवाले राजनीतिक भाषण गरेनन्। बरु उनले धार्मिक रुपमा विश्वास गर्नेलाई यो आकर्षषक र राम्रो गन्तव्य भएको भन्दै हौस्याए। उनले समुन्द्रमा पनि शालीग्राम पाइने भन्दै कुनै बेला भूकम्पले पहाड बन्दा यो क्षेत्रमा शालीग्राम पाइने भएको हुन सक्ने बैज्ञानिक कारण बारे पनि बताए।
‘धार्मिक कारण एउटा छ। भूगोलको हिसावले पनि समुन्द्र र पहाडको सम्बन्धले शालीग्राम पाइएको हुन सक्छ’ उनले भने, ‘शालीग्राम पुजिने भएकोले धेरैको चासोको बिषय पनि हो।’ देउवाले संग्रहालय अवलोकन पनि गरे। अवलोकनको क्रममा उनले सुरुङमा बनेको कालीगण्डकी सभ्यताको नक्सा पनि रुचिपूर्वक हेरेका थिए।