images
images

दिल्ली आगलागी अपडेटः ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

नयाँ दिल्ली– भारत राजधानी नयाँदिल्लीस्थित एक कारखानामा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । आगलागीमा परी १६ जना घाइते भएका छन् ।

एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सहरका साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएर धेरैतिर फैलिएको बताइएको छ ।“घटनास्थलबाट हामीले कम्तीमा ५० जनालाई उद्धार गरेका छौँ,” नयाँ दिल्लीका प्रहरी उपप्रमुख सुनिल चौधरीले भने ।“उद्योगमा काम गर्ने मजदुरहरु सुतिरहेका बेला चार पाँच तले भवनमा आगलागी भएको थियो,” उनले भने, “खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ ।”

नयाँ दिल्लीका एक जना बरिष्ठ प्रहरी अधिकारीले आगलागी भएको भवनमा कम्तीमा ५८ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

अग्नि नियन्त्रकहरुले आगलागी नियन्त्रण गर्न निकै कठिनाई भएको बताएका छन् । आगलागी भएको भवनमा स्कुले विद्यार्थीका झोला र प्याकेजिङ गर्ने सामग्री राखिएका थिए ।

उद्धारकर्ताहरुले आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाएका छन् । उद्धार गरिएका सबैलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गरेका छन् ।

प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी उनले राहतको घोषणा गरेका हुन् । सो रकम आगलागीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दिइने अधिकारीहरुले जानकारी दिएका छन् ।

उनले आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई प्रतिव्यक्ति ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन् ।

त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि मृतकका परिवारलाई प्रतिव्यक्ति दश लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले घाइतेहरुलाई भने प्रतिव्यक्ति एक लाख भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको जनाइएको छ ।