images
images

शुल्क समायोजन : युनिर्भसल कलेजका विद्यार्थी र प्रशासनबीच ६ बुँदे सहमति

काठमाडौँ । युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे सहमति भएको छ ।

मङ्सिर १० गते शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्ने सम्बन्धमा युनिर्भसलका विद्यार्थी र कलेज प्रशासनबीच गत राति सहमति भएको हो ।

सहमतिमा शैक्षिक वर्ष २०७५ र ०७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्क समेत तिरिसकेको हकमा त्रिवि रजिष्टेशन शुल्क, काउन्सिल रजिष्टेसन शुल्क सम्बन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने भनिएको छ ।

यस्तै २०७४ र ०७५ मा विद्यार्थीहरुले पहिलो र दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाइसकेकाहरुको हकमा त्रिवि रजिष्ट्रेसन शुल्क, काउन्सिल रजिष्टेसन शुल्क सम्वन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम आजका मितिबाट समायोजन फिर्ता गर्ने प्रक्रिया शुरु गर्ने पनि सहमति भएको छ ।

कलेजको तर्फबाट अजयकुमार पिएस र सन्तोषकुमार विएनले सहमति पत्रका हस्ताक्षर गरेका छन् भने  विद्यार्थीको तर्फबाट अशोक छत्कुली, रुद्रनारायण शाह, राजेश पौडेल, सुभास झा लगायतका १५ जनाले हस्ताक्षर गरेका छन् ।

सहमतिपछि विद्यार्थीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्ने र कलेजका शैक्षिक प्रशासनिक एवम् प्राज्ञिक क्रियाकलापमा बाधा नपु¥याउने बताएका छन् ।

सरकारको तोकेको भन्दा धेरै शुल्क लिएको भन्दै देशभरका चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु झण्डै १० महिना देखि आन्दोलनमा छन् ।

चिकित्सक शिक्षा आयोजग र निजी मेडिकल कलेजबीच बढी लिएको अतिरिक्त शुल्क फिर्ता तथा समायोजन गर्ने निर्णय भए पनि अझैसम्म शुल्क फिर्ता नगर्दा विद्यार्थीहरु आन्दोलनले आन्दोलन जारी राखेका थिए ।